काठमान्डौ,१३ बैशाख//
सुकुमवासीको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ। आयोगको टोली आइतबार बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यास परिसरमा पुगेर स्थलगत अनुगमन सुरु गरेको हो।
गत शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीहरूलाई हटाइएको थियो। हटाइएका व्यक्तिहरूलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन तथा कीर्तिपुरस्थित सत्सङ्ग भवनलगायत स्थानमा राखेको छ।
सुकुमवासी हटाउने क्रममा मानव अधिकार उल्लङ्घन भएको आरोप उठेपछि आयोगले अवस्थाबारे प्रत्यक्ष बुझ्न टोली खटाएको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रभावितहरूको अवस्था अध्ययन गर्न अनुगमन जारी रहेको जानकारी दिएका छन्।
आयोगले यसअघि नै सुकुमवासी व्यवस्थापनका विषयमा सरकारलाई दिएका सिफारिसहरू कार्यान्वयन गर्न आग्रह गर्दै वैशाख ११ गते पत्राचार गरेको थियो। २०६९ सालमै आयोगले वास्तविक सुकुमवासीको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सुझाव दिएको थियो।
साथै, अतिक्रमित जग्गा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित ढंगले काम गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको थियो।