काठमान्डौ,९ बैशाख//
गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारसम्बन्धी विषयमा चौतर्फी आलोचना बढेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेटेर राजीनामा बुझाएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा गुरुङले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले लेखेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।”
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जनआन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्। साथै, आफूमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरेका छन्।
“पदमा रहँदा छानबिन गर्दा स्वार्थको द्वन्द्व देखिन सक्छ भन्ने बुझेर मैले राजीनामा दिएको हुँ,” उनले स्पष्ट पारेका छन्। उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै सरकारप्रति उठेका प्रश्नको उत्तर पनि यही कदम भएको बताएका छन्।
गुरुङले सञ्चारमाध्यमप्रति पनि संकेत गर्दै सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने बताएका छन्। “परिवर्तन चाहनेहरूले त्याग र नैतिक साहस देखाउनैपर्छ,” उनले उल्लेख गरेका छन्।
उनको राजीनामापछि गृह मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अब राजनीतिक तहमा छलफल बढ्ने देखिएको छ।