काठमान्डौ,९ बैशाख //
प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) सिफारिस गर्ने विषयमा आज सर्वदलीय बैठक बसेको छ। सभामुख डोलप्रसाद अर्याल को उपस्थितिमा प्रतिनिधिसभामा सहभागी सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग यसबारे छलफल गरिएको हो।
सिंहदरबारस्थित संसद सचिवालयको कानुन समितिको हलमा बिहान १० बजेदेखि बैठक जारी रहेको छ। बैठकमा सांसदहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने मापदण्ड, सिफारिस प्रक्रिया तथा यससँग सम्बन्धित प्राविधिक र नीतिगत विषयमा केन्द्रित रहेर छलफल भइरहेको सचिवालयले जनाएको छ।
बैठकमा सत्तापक्ष र प्रतिपक्षका सबै दलका सचेतकहरूको सहभागिता रहेको छ। राहदानी सिफारिसमा देखिँदै आएका व्यावहारिक जटिलता समाधान गर्ने र प्रक्रिया एकरूप बनाउने उद्देश्यले सभामुख अर्यालले यो पहल गरेको बताइएको छ।
यस छलफलबाट कूटनीतिक राहदानी वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र मापदण्डअनुसार बनाउने अपेक्षा गरिएको छ।