काठमान्डौ,९ बैशाख//
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य भुवन भट्टसहित विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वीसीलाई पक्राउ गरिएको विषय लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्।
विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण हिँडडुल र असहमति व्यक्त गर्ने अधिकार नागरिकका मौलिक हक भएको उल्लेख गरिएको छ। यस्ता अधिकार प्रयोग गर्दा नागरिकलाई पक्राउ गर्नुले विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कांग्रेसको भनाइ छ।
‘असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता र संविधानको मर्मविपरीत हो,’ विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले असहमति र विरोधलाई लोकतन्त्रको अभिन्न अङ्ग मान्दै संवाद र सहकार्यबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
पार्टीले पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न तथा भविष्यमा नागरिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेको छ। उल्लेखित नेताहरूलाई मंगलबार सिंहदरबारभित्र नाराबाजी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो।