धनुषा ,२९ असोज//
डा. सिके राउत नेतृत्वको जनमत पार्टी फुटेर जनस्वराज पार्टी निर्माण भएको छ । जनमत पार्टीको ५२ जनाको केन्द्रीय समितिबाट १४ जना अर्थात २६ प्रतिशत केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए ।
दर्ता भएको नयाँ दलमा १० सदस्यीय पदाधिकारी र २५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
पार्टीको छोटकरीमा नाम जस्वपा रहने भएको छ । उक्त दलले निलो, सेतो र रातो रंगको ठाडो धर्का (स्ट्रिप) को झण्डा माग गरेको छ । उक्त दलले अहिले दलको निर्वाचन चिन्ह माग नगरेकाले आयोगमा कायम भएका दलको निर्वाचन चिन्हसँग नबाझिनेगरी कुनै उपयुक्त चिन्ह प्रस्ताव गर्न उक्त दललाई निर्देशन दिने निर्णय गरेको छ ।
आयोगले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सनाखत गराउने निर्णयपछि पार्टी फुटाएका १४ जनाले सोमबार आयोगमा पुगेर सनाखत गरेका थिए ।
दर्ता भएको दलमा अध्यक्ष दीपककुमार साह, उपाध्यक्ष इरफान अहमद शेष, सुरज सिंह, सुरेन्द्रनारायण यादव र सम्भुनाथ साह रहेका छन् भने महासचिव सुनिलकुमार यादव रहेका छन् । यादव जनमत पार्टीका तत्कालिन कोषाध्यक्ष हुन् । यस्तै सचिवमा संजयकुमार यादव, राजेन्द्र राय, हेमलता रजक, मदनेशकुमार चौधरी रहेका छन् ।