जनकपुरधाम ,२९ असोज//
जनमत पार्टीका दुई जना प्रदेश सांसदले जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश सिंह र त्रिभुवन साहले जनस्वराज पार्टीमा सनाखत गरेका हुन् ।
निर्वाचन कार्यालय धनुषामा गएर उनीहरुले सनाखत गरेका हुन् । उनीहरू सनाखत गर्न जाँदा दुई पक्षको बिचमा नाराबाजी भएको थियो । जनमत पार्टी र जनस्वराज पार्टीका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दा दुवै पक्षबिच झडप समेत भएको थियो ।
जनमत पार्टीका १३ सांसद मध्ये दुई जना जनस्वराज पार्टीमा गएपछि जनमत पार्टीसँग ११ सांसद बाँकी रहेका छन् ।
पाँच वटा दल मिलेर लोसपा नेपालका उपाध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन पाँच दलका ५६ जना सांसदले हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।
त्यसमध्ये ५४ जना जितेन्द्र सोनलको पक्षमा रहेका छन् । ती दुई जना अहिले कुनै पक्षमा खुलेका छैनन् ।