प्रिय भाइ फणि,
थुप्रै थुपै यादगर पलहरु सहित श्रद्धाका गुच्छाहरु समर्पण गरें । हार्दिक श्रद्धाञ्जली भन्न वाध्य भएँ । लेख्न कठीन रहेछ । हात काँप्दैछ । खै के भनु ? थालनी कहाँबाट गरुँ ? र अन्त्य कसरी गरुँ ? औंलाहरु चलिरहेका छैनन् मेरा । मन शुन्य भएको छ ।
तिम्रो स्मरणमा आँखाहरु सुस्काइरहेछन् जसरी सुस्काउँछ नदी । तिम्रो सम्झनाले मन मेरो गहुँगो भएको छ । भाइ,यो लोकमा न सही तिमी रहेको लोकमा हामीलाई पनि स्मरणगर्दै गर्नु ल !
भाइ, तिमीले लेखेको समाचार पढेर पहिलोपल्ट ५० वर्ष भन्दा बढी उमेरको व्यक्तिले पढ्ने इच्छा जाहेर गरेको कुराको जानकारी पाएको थिएँ । अनि एसएलसीको तयारीमा रहेको मुसहर जातिको दाजुलाई साइकल किनिदिएको पल मैले भुलेकी छैन् ।
तिमीले सानै उमेरदेखि सूचनाको हक सर्वसाधारणसम्म पुगोस् भनेर पत्रकारीताको मिसनमा आफुलाई होमेउ । त्यसतर्फ तिम्रा दर्विला पाइलाहरु अगाडि बढ्दै गर्दा मुख्यतः रौतहटको शिक्षा क्षेत्रको लागि संप्रेषण गरेका खवरहरु, अनि तिम्रा भूमिकाहरुको कारण शिक्षा पत्रकारीता पुरस्कारबाट सम्मानित र पुरस्कृत समेत भएको हिजो जस्तो लाग्छ । त्यतिबेला तिमी जतिक्कै खुशी भएकी थिएँ म । शिक्षा र सञ्चार क्षेत्रलाई जीवनसँग जोड्दै अगाडि बढ्दै थियौ । तर लक्ष्य हासिल नहुँदै तिमीले हामीलाई छाडिगयौ । देहलाई परलोक गमनतर्फ प्रस्थान गरेउ । भाइ, मलाई अझै विश्वास लागेको छैन् । मनले मानेको छैन् कि तिमी छैनौ भनेर ।
भाइ,तिम्रो त्यो सरलता र मीठो मुस्कानको क्रेज कहाँ सकिएको छ र । तिम्रो जरुरत रौटहटलाई धेरै थियो । मैले तिम्रो फोटो धेरैबेर हेरें । अहँ मन बुझाउन सकिन् । र मनलाई मनाउन सकिन् । तिमी हाम्रै समीपमा छौ जस्तो । तिमी अझै पत्रकारीतामै रमाइरहेछौ जस्तो । शिक्षा क्षेत्रको विकासमा तल्लिन भएर पाइला चालिरहेका छौ जस्तो भान परिरहेछ ।
जीवनको लय पनिअनौठो छ हगीभाइ ! यति छिटो हामीबाट लय विगार्छ तिम्रो जीवनले लागेकै थिएन् । कस्तो अनौठो मान्छेको जीवन । कस्तो मान्छेको दुर्नियति । दैब पनि कति निष्ठुर छ । उफ्.........। भाइको कसैलाई केहीपर्दा गर्ने सद्भाव र सदाशयताको वर्णन कसरी गरुँ । मन भतभति पोलिरहेछ तिमीसँगको विछोडले । मुटुमागाँठो परिरहेछ तिमीसँगको विच्छेदले ।
दुनियाँमा तिमीजस्ता मान्छेलाई किन दैवले पहिले लग्छहोला सोचनिय लाग्छ । तर उत्तर पाउँदिन् । मन दुखाउँछु । भाइ,धेरै शब्द लेख्ने आँट र हिम्मतपनि छैन् म मा । ममात्र हैन् ,रौतहटमा तिमी र तिम्रो सत्कर्मलाई चिन्ने चिनारुहरु सबै दुखित बनेका छन् । अरुको भलो चिताएर रातदिन सर्वे भवन्तु सुखिनको लयमा हिडाउँन कोशिस गर्दैै लागिपर्ने तिमीलाई गुमाउँदा सिंगो रौतहटले शोक महसुस गरेको छ ।
अरुको लागि जीवन दिन पछि नपर्ने तिमी आज यही जिन्दगीसँग मुकाविला गर्दै महाप्रस्थानको यात्रा तय गरेउ है । मैले त तिमीलाई २०८० को मंसिर पछि भेट्नै पाइन् । त्यहि भेट अन्तिम रहेछ । फेरी भेट हुनेछ दिदी भनेर छुट्टिएका तिमीमसँग भेट्न समेत नआइ यो स्वार्थी र मतलवि दुनियाँबाट टाढाभयौ है ! भेट्ने बाचा अधुरो नै रह्यो । भाइ,तिमीलाई तिमीले गरेका सत्कर्महरुमा म भेटिरहने छु । मेरो मनमा तिमीले गरेका असल कर्मको अमिट छाप बसिरहेछ । तिमी मेरो मात्र होइन धेरैको मन र मष्तिस्कमा असल कार्यको निम्ति बसिरहेछौ ।
‘सन्चै दिदी?’
भेटेसँगै सोधिरहने तिमी । मुसुक्क मुस्कुराएर बोल्ने तिम्रो बानी । त्यो आदरपूर्णभावयुक्तवाणी मेरो कानमा अझै गुञ्जिरहेको छ । जब जब तिम्रो याद आउँछ, मेरो नयन उसै उसै रसाइरहन्छ । सायद रगतको नाताभन्दा भावनाको नाता ठूलो हुन्छ भन्थे । हो रहेछ क्यार ।
भाइ, तिमी जहाँछौं । परलोकमा पनि तिम्रो राम्रो होस । तिम्रा अखवारका कुनै पृष्ठहरुमा लेखिएका सृजना भेटिदाँ म तिमीलाई हेर्छु । तिमीलाई पाउँछु र भाइ संगै छ भन्ने महसुस गर्छु ।
भाइ,धेरै लेखिन । आँखा रसाए । तिमी जुनलोकमा छौ राम्ररी बसे है ।
अलविदा भाइ !
उहीं तिम्री दिदी
लक्ष्मी श्रेष्ठ
२०८२।०२।११