काठमान्डौ,२८ फागुन //
बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्डसहित विरोध जनाएका छन्।
उक्त घटनाको थप अनुसन्धान भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर पुगेको छ।प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।