सिराहा,२ बैशाख//
लहान नगरपालिका–२४स्थित गोविन्दपुर र झुट्की गाउँ जोड्ने सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्धारित समयसीमा आगामी असोजसम्म रहे पनि निर्माण कम्पनीले मनसुन सुरु हुनुअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित कामलाई तीव्र बनाएको छ।
कुल १७० मिटर लम्बाइ रहेको पुलमा तीन स्पानमध्ये दुई स्पानको काम पूरा भइसकेको छ भने बाँकी एक स्पान अन्तिम चरणमा पुगेको छ। करिब ३१ करोड २९ लाख रुपैयाँ लागतमा हिराचन्द कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो।
प्रोजेक्ट इन्जिनियर प्रज्वल बस्नेतका अनुसार २०८० जेठ ३१ गते सम्झौता भएको आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। “मनसुन सुरु हुनुअघि नै पुल निर्माण सकाएर यातायात सञ्चालन गर्ने तयारीमा छौँ,” उनले भने।
पुल नहुँदा खेस्राहा, डाडाँटोल र मानिकदह क्षेत्रका स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए। स्थानीय वीरेन्द्र यादवका अनुसार बाढीका बेला घण्टौँ पर्खनुपर्थ्यो र बिरामीलाई अस्पताल पुर्याउनसमेत समस्या हुने गरेको थियो।
यो पुल निर्माणमा स्वर्गीय नेता प्रदीप गिरीको महत्वपूर्ण भूमिका रहेको स्थानीय बताउँछन्। २०७४ को निर्वाचनका बेला उनले गरेको प्रतिबद्धता र त्यसपछिको पहलका कारण आयोजना यहाँसम्म पुगेको हो।
स्थानीय शिवदत राईले अब पुल निर्माणले किसानलाई वर्षायाममा पनि सहज रूपमा उत्पादन बजारसम्म पुर्याउन मद्दत पुग्ने बताए।
त्यस्तै, वडाध्यक्ष राशलाल राय राजपुतका अनुसार पुलले झुट्की गाउँलाई वर्षायाममा टापुजस्तो अवस्थाबाट मुक्त गर्नेछ। “यो पुलले मानिकदह लगायत क्षेत्रसम्म वर्षभरि पहुँच पुर्याउनेछ र स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ,” उनले भने।
पुल निर्माणसँगै सलहेश फूलबारी, मानिकदह, पकडियागढ र मैसोथासम्मको पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ।