मौलापुर, मंसिर ७ । मौलापुर नगरपालिकाको मेयर प्रत्याशी रामकल्याण यादवको निजि लगानीमा जारी मेयर प्रत्यासी कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत आइतबार सम्पन्न दुई खेलमा वडा नं. ७ सगैया पिपरिया र वडा नं. ४ पतौराले शानदार जित हासिल गरेका छन्।
प्रतियोगिताको पहिलो खेलमा वडा नं. ७ सगैया पिपरिया र वडा नं. ६ पथरा बुधरामबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको सगैया पिपरियाले निर्धारित १२ ओभरमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको पथरा बुधराम १०० रनमै अलआउट भएपछि सगैया पिपरियाले जित आफ्नो पक्षमा पारेको हो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका लखिन्द्र म्यान अफ द म्याच घोषित भए। उनलाई निर्वाचन आयोगका लेखापाल दिनेश जैसवाल र शत्रुधन साहले संयुक्त रूपमा म्यान अफ द म्याचको उपाधि प्रदान गरेका थिए।
त्यसैगरी, दोस्रो खेलमा वडा नं. ४ पतौरा र वडा नं. ३ गम्हरियाबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको गम्हरियाले १० ओभरमा ११२ रन बनाउँदै सबै विकेट गुमाएको थियो। ११३ रनको लक्ष्य पछ्याएको पतौराले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ९ ओभरमा लक्ष्य पूरा गर्यो। यससँगै पतौराले सहज जित दर्ता गरेको हो।
दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५० रनको शानदार पारी खेलेका चन्द्रिका महतो (सी. महतो) म्यान अफ द म्याच घोषित भए। उनले खेलमा ह्याट्रिक छक्कासमेत प्रहार गरेका थिए। महतोलाई म्यान अफ द म्याचको मेडल बिरबल यादवले प्रदान गरेका थिए भने ह्याट्रिक छक्का प्रहार गरेबापतको पुरस्कार रेडबुल रामाधार यादवले हस्तान्तरण गरेका थिए।
प्रतियोगिताका आयोजक तथा मेयर प्रत्याशी रामकल्याण यादवले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई दिँदै विजेता टोलीलाई विशेष शुभकामना व्यक्त गरेका छन्।
आफ्नो चुनावी घोषणापत्रमा खेलकुदलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका यादवले त्यसको कार्यान्वयनस्वरूप मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेपछि मौलापुरमा उनको चर्चा बढेको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नगरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गरेको छ।