रौतहट । रौतहटको गुजरा नगरपालिका–३ बलुवा टोलस्थित खेतको छेउबाट प्रहरीले एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा बरामद गरेको छ।
शुक्रबार बिहान करिब ९ बजे प्रहरी चौकी हरिनगरबाट प्रहरी सहायक निरीक्षक सत्यनारायण साहको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोली कार्यालय फर्किने क्रममा पश्चिम नहर सडकखण्डको खेत छेउमा भरुवा बन्दुक देखेको थियो।
बन्दुक फेला परेपछि प्रहरीले आसपासको क्षेत्रमा खोजतलास गरे पनि कुनै व्यक्ति फेला नपरेको जनाएको छ। त्यसपछि स्थानीय व्यक्तिहरूलाई बोलाई उनीहरूको रोहवरमा उक्त भरुवा बन्दुक बरामद गरी प्रहरी चौकी हरिनगरमा ल्याएर सुरक्षित राखिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक राजेशकुमार खत्रीको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।
बरामद भएको बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।