रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–४ खापटोलमा खाना पकाउने क्रममा आगलागी हुँदा एक परिवारको भान्सा घर जलेर नष्ट भएको छ।
स्थानीय शेख इसमाइल महमदका छोरा शेख मनजर आलमको फुसको छाना र सेन्टिबेराले बनेको भान्सा घरमा खाना पकाउने क्रममा बिहीबार बिहान करिब ७ः३० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट भान्सा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा फर्निचरका सामानसमेत जलेर नष्ट हुँदा करिब ५७ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबारे बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक उमेशकुमार मेहताको कमाण्डमा टोली घटनास्थलमा पुगेर घटनाबारे बुझाएको थियो।
प्रहरीका अनुसार आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन।
आगलागी खाना पकाउने क्रममा भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि घटनाबारे थप विवरण तथा क्षतिको यकिन मूल्यांकन भइरहेको प्रहरीले जनाएको छ।