रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ निवासी निरज साह सोनारमाथि फलामको रड प्रहार गरी गम्भीर घाइते बनाइएको आरोप लागेको छ।
शनिबार बिहान कटहरिया बजारस्थित नथुनी चोकमा रहेको एक चिया पसलमा चिया खाइरहेका बेला व्यक्तिगत रिसइबीका कारण कटहरिया नगरपालिका निवासी रोशन साह र जनार्दन साहले साहमाथि संघातिक आक्रमण गरेको पीडित पक्षको आरोप छ।
रड प्रहारबाट साह गम्भीर घाइते भएपछि चिया पसलमा उपस्थित स्थानीय व्यक्तिहरूले तत्काल उद्धार गरी उपचारका लागि स्थानीय जीवन ज्योति अस्पताल पुर्याएका छन्।
घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक (सई) जयप्रकाश साहको नेतृत्वमा रहेको टोलीले घटनाबारे अनुसन्धान गर्दै आरोपितहरूको खोजी गरिरहेको बताइएको छ।
प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।