रौतहट । रौतहटको गुजरा नगरपालिका–७ पल्टुवामा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।
राजपुर नगरपालिका-१ घर भई पल्टुवास्थित मामाघरमा बस्दै आएका लालबाबु रामका ८ वर्षीय छोरा छोटेलाल रामलाई शुक्रबार राति करिब २ बजे सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले डसेको थियो। सर्पले डसेपछि उपचारका लागि लैजान नपाउँदै बिहान करिब ६ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे दिउँसो करिब २ः४५ बजे प्रहरी चौकी रंगपुरमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामध्यान यादवको कमान्डमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा बालकको शव रहे पनि पोस्टमार्टमसम्बन्धी विषयमा विवाद भएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमान्डमा SOCO सहित १० जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शुनिबार बिहान ७ बजे बालकको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुरमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।