रौतहट, साउन ३
जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान, राजस्व छली नियन्त्रण तथा सामुदायिक प्रहरी सेवामा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। एक वर्षको अवधिमा १ हजार १५२ मुद्दा दर्ता हुँदा ६१४ जनालाई पक्राउ गरिएको छ भने ५ करोड रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले दर्ता भएका १ हजार १५२ मुद्दामध्ये ६८० वटा फछ्र्योट भइसकेको र ४७२ मुद्दा अनुसन्धानकै चरणमा रहेको बताए।
लागूऔषध नियन्त्रणमा सक्रियता
एसपी रिजालका अनुसार समीक्षा अवधिमा लागूऔषधसम्बन्धी ३९ मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ८८७ किलो २० ग्राम गाँजा, २५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर, २ हजार २५६ एम्पुल तथा १३ हजार ३१९ ट्याब्लेट बरामद गरेको जनाएको छ।
४४८ फरार प्रतिवादी पक्राउ
अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले ४४८ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ६३ लाख ७१ हजार ५७४ रुपैयाँ जरिवाना असुल गरिएको एसपी रिजालले जानकारी दिए।
हतियार र खोटा मुद्रा बरामद
प्रहरीले एक वर्षमा ६ थान अवैध हतियार र ११ राउन्ड गोली बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। यस्तै खोटा मुद्रासम्बन्धी तीन मुद्दामा सात जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।
दुर्घटनामा ५३ जनाको मृत्यु
समीक्षा अवधिमा जिल्लामा १ हजार वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ भने १ हजार ६६९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गर्दा १ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। ५ करोडभन्दा बढीका तस्करीका सामान बरामद
भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १८ जनालाई पक्राउ गरी ५५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। ती सवारीसाधन तथा बरामद सामानबाट
५ करोड १२ लाख ५५ हजार २२ रुपैयाँ बराबरको राजस्व असुलीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताए।
उनका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा लक्ष्यभन्दा ५.२४ प्रतिशत बढी हो। स्रोत नखुलेको रकम र अवैध गतिविधिमाथि कारबाही
प्रहरीले स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित चार जनालाई पक्राउ गरेको जनाएको छ। त्यसैगरी अवैध काठ तस्करी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा घरेलु मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानमा ठूलो परिमाणमा काठ बरामद गरिएको, ३० वटा सवारीसाधन नियन्त्रणमा लिइएको तथा पाँच वटा अवैध मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ। मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न उपकरण र कच्चा पदार्थसमेत नष्ट गरिएको छ।
१ लाख ३३ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभर १५४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
यही अवधिमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट ८८१ लाख ३३ हजार ७६४८८ सेवाग्राहीले विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।
पत्रकार सम्मेलनमा एसपी रिजालले सीमित जनशक्तिका बाबजुद प्रहरीले प्रभावकारी सेवा प्रवाह गर्न सफल भएको बताए। अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, राजस्व छली नियन्त्रण र सामुदायिक प्रहरी कार्यक्रम प्रभावकारी बनाउन स्थानीयवासी, सञ्चारमाध्यम तथा सरोकारवाला निकायको सहयोग महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमसहित अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।