रौतहट, ७ असार।
पत्रकारहरूको पेशागत दक्षता, समाचार लेखन सीप तथा सञ्चार क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित “पत्रकारको क्षमता अभिवृद्धि तालिम” आइतबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ।
चन्द्रपुर नगरपालिकाको सहयोग तथा दिव्य युवा जागरण समाज नेपालको आयोजनामा सञ्चालित उक्त तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रशिक्षक झाले पत्रकारितामा व्यावसायिकता, समाचार लेखन कला, सञ्चारमाध्यमको विश्वसनीयता तथा बदलिँदो सञ्चार प्रविधिका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। साथै पत्रकारिताको वर्तमान अवस्था, पत्रकार आचारसंहिता, डिजिटल पत्रकारिता तथा सञ्चार क्षेत्रका चुनौती र अवसरबारे समेत छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेले समयको आवश्यकता अनुसार पत्रकारहरूले आफ्नो पेशागत क्षमता विकास गर्नुपर्ने बताउनुभयो। उहाँले जिम्मेवार, निष्पक्ष र सक्षम पत्रकारिताले समाजमा सही सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
दिव्य युवा जागरण समाज नेपालका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्ले प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक शिव पुरी लगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
तालिममा सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले व्यावसायिक पत्रकारितालाई थप सुदृढ बनाउन तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।