असार ०४, रौतहट
बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्दै सुरक्षित र व्यवस्थित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८३ अन्तर्गत रौतहट जिल्लामा बिहीबार दोस्रो दिन विभिन्न सचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको सहकार्य तथा समन्वयमा जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा जिल्लाभर कार्यक्रम सञ्चालन गरिएको हो। अभियानलाई मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले समेत सहयोग गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार पूर्वनिर्धारित कार्यतालिका अनुसार दोस्रो दिन जिल्लाका विभिन्न स्थानमा प्रहरी कार्यालयका प्रमुखहरूले सवारी चालकहरूसँग दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा चालकहरूलाई ट्राफिक नियमको पालना, सवारी साधनको नियमित प्राविधिक परीक्षण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, अत्यधिक गति नियन्त्रण गर्ने तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको थियो।

त्यसैगरी यातायात व्यवसायी तथा यातायात मजदुरहरूसंग समेत अन्तरक्रिया गरी दुर्घटनाका प्रमुख कारण, त्यसको प्रभाव तथा न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो। सहभागीहरूले सडक सुरक्षालाई प्रभावकारी बनाउन चालक, यात्रु तथा सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका थिए।अभियान अन्तर्गत जिल्लाका विभिन्न विद्यालय तथा कलेजहरूमा विद्यार्थीहरूलाई लक्षित गरी ट्राफिक जनचेतनामूलक प्रशिक्षण कक्षा सञ्चालन गरिएको थियो।
प्रशिक्षणमा सडक पार गर्ने सही तरिका, ट्राफिक संकेतको महत्व, हेल्मेट तथा सिटबेल्टको प्रयोग, पैदल यात्रुको अधिकार लगायतका विषयमा जानकारी दिइएको थियो।यसैबीच ट्राफिक प्रहरीले जिल्लाका विभिन्न बजार क्षेत्र, चोक तथा सार्वजनिक स्थानहरूमा पर्चा–पम्पलेट वितरण गर्नुका साथै सवारी साधनहरूमा जनचेतनामूलक स्टिकर टाँस्ने कार्यसमेत गरेको छ। आम नागरिकलाई ट्राफिक नियमप्रति सचेत बनाउन बजार क्षेत्रमा जिंगल प्रसारण गरी सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गरिएको थियो।ट्राफिक प्रमुख मगरले रौतहटमा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढ्दै गएको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले ट्राफिक नियमको पूर्ण पालना, जिम्मेवार चालक व्यवहार तथा नागरिक सचेतनाबाट मात्र दुर्घटना नियन्त्रण सम्भव हुने बताए।साताव्यापी अभियान अन्तर्गत आगामी दिनहरूमा पनि विभिन्न जनचेतनामूलक, प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। अभियानमार्फत सडक प्रयोगकर्ताहरूमा जिम्मेवारीबोध बढाई सुरक्षित, अनुशासित र दुर्घटनारहित यातायात प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।