ौतहटको चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित रहेको मुस्कान होटलमा काम गर्ने कामदार मृत अवस्थामा शव फेला परेको छ । केहि महिनादेखि होटलमा काम गर्दै आएका चन्द्रपुर नगरपालिका वडा नं. ६ निवासी ५० बर्षिय कृष्ण प्रसाद घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा फेला परेको हो । तर मृतक घिमिरेका परिवारका सदस्यले आत्महत्या नभई हत्या भएको दावी गरेका छन् । यदपी घटनाको बारेमा अनुसन्धान भै रहेको प्रहरीले बताएको छ । मृतक घिमिरेले होटल संचालकले आफनो चार महिनादेखिको तलव नदिएको भन्दै सोमबार विहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएको थियो । सोमबार बिहान उजुरी दिएका घिमिरेको शव सोही होटलमा राति झुण्डिएको अवस्थामा बेलुका फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिाहपुरले जनाएको छ । शवको अनुहार लगायतमा केही चोटपटक समेत देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको भएतापनि सो चोटपटक नयाँ अथवा पुरानो भन्ने यकिन भने नभसकेको प्रहरी स्रोतले बताएको छ । प्रहरीले उक्त घटनलाई गम्भीरतापूर्वक हेरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य पत्ता लाग्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सो घटनापछि होटलका सञ्चालक हबीब मियाँ अन्सारी फरार रहेको र खोजी कार्य भै रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले घटनाको आवश्यक अनुसन्धान पछि मात्र हत्या वा आत्महत्याका बारेमा खुल्ने बताए । यस घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र शव परीक्षणपछि मात्र थाहा हुने उनको भनाई छ । पीडित परिवारले उक्त होटल सञ्चालक अन्सारीका विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी समेत दिएको बताएका छन्। अहिले होटल सञ्चालक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको रौतहट प्रहरीले जनाएको छ।