रौतहट, ६ चैत //
वन क्षेत्रसँग सम्बन्धित बढ्दो चुनौतीहरू न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय, चन्द्रपुर, रौतहटको आयोजनामा जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ।
आज (शुक्रबार )चन्द्रपुरस्थित होटल एन प्लाजामा सम्पन्न बैठक जिल्ला समन्वय समितिका प्रमुख राम अयोध्या राय यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल वन पैदावार व्यवसायी संघका उपाध्यक्ष राम रायमाझी, सशस्त्र प्रहरी बल नेपाल ११ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी, इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरीक्षक रुपा लावुङ, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वनाथ जी.सी., नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की तथा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष वेदहरी दाहाल लगायत करिब ५० जनाको उपस्थिति रहेको थियो।
बैठकमा वन पैदावारको अवैध चोरी निकासी, वन अतिक्रमण, वन डढेलो, नदिजन्य पदार्थको अवैध उत्खनन तथा मानव–वन्यजन्तु द्वन्द्वजस्ता समस्याहरूमा गम्भीर छलफल गरिएको थियो।
समितिले अवैध कटानी तथा चोरी निकासी नियन्त्रण गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने, वन अतिक्रमण रोक्ने तथा अतिक्रमित क्षेत्र फिर्ता ल्याउने, वन डढेलो नियन्त्रणका लागि समन्वयात्मक पहल गर्ने निर्णय गरेको छ। साथै काठ–दाउराको व्यवस्थापन र क्षति मूल्याङ्कनलाई व्यवस्थित बनाउने विषयमा पनि सहमति भएको छ।
त्यसैगरी, नदिजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गरी दिगो उपयोग सुनिश्चित गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक समन्वय र क्षतिपूर्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिने निर्णयसमेत गरिएको छ।