रौतहट,४ चैत//
रौतहटमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतना र्याली गरिएको छ। सुख्खा याम सुरु भएसंगै वन डढेलोका घटनामा वृद्धि हुन थालेपछि डिभिजन वन कार्यालय रौतहटको नेतृत्व तथा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमामा उक्त सचेतना र्याली गरिएको हो।
“डढेलोबाट वनलाई जोगाऔं” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त र्यालीमा विभिन्न सरकारी निकाय, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८२ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले हातमा विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर बजार क्षेत्र परिक्रमा गरेका थिए। प्लेकार्डमा “वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहकार्य” लगायतका सन्देशहरू समावेश गरिएको थियो ।

र्यालीमार्फत वन डढेलोबाट हुने क्षति न्यूनीकरणका उपायहरूबारे जानकारी दिइनुका साथै जनसहभागिताको आवश्यकता औंल्याइएको थियो। वनमा आगो लगाउनु कानुनी अपराध भएको र वन संरक्षण सबैको साझा जिम्मेवारी भएको सन्देश दिएका थिए।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले वन आगलागी नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो । उहाँले डढेलो लगाउने व्यक्तिलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै वातावरण संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।


प्रमुख साहले वन क्षेत्रमा जथाभावी आगो बाल्ने, सिगरेटका ठुटा फाल्ने जस्ता गतिविधि रोक्न आग्रह गर्दै सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न सबैको साझा पहल अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।




