रौतहट ,२९ फागुन//
रौतहटको चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएको ६ वटा घरटहरा भत्काइएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार बिहीबार अपराह्न इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले वन क्षेत्रमा निर्माण गरिएको ६ वटा अवैध घर तथा छाप्रा भत्काएर अतिक्रमण हटाइएको हो ।
गत २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएका बेला केही स्थानीयले वन क्षेत्रमा रातारात घर तथा छाप्रा निर्माण गरी अतिक्रमण अवैध संरचना हटाइएको डिभिजन प्रमुख साहले जनाकारी दिए ।
प्रमुख साहले कुनै पनि बहानामा वन अतिक्रमणलाई छुट नदिइने स्पष्ट पर्दै उनले वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।