रौतहट ,२९ माघ//
शस्त्र प्रहरी र बन सुरक्षा टोलीले रौतहटको जंगलसहियामा अवैध सालको काठ बोकेको एकथान टाटा सुमो गाडी र एकथान मोटरसाइकल बरामद गरेको छ।
जंगलसहिया सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति करिब ९ः३० बजे गस्तीको क्रममा दुईथान सालको गोलिया काठ बरामद गरेको हो।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले नियमित गस्तीका क्रममा जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो। सो क्रममा भारतीय नम्बर प्लेटको सुमो गाडीमा लोड गरिएको साल काठ र ना ६७ प १०५१ नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको डिवीजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
टोली पुग्नासाथ काठ तस्करीमा संलग्न तस्करहरू सवारीसाधन छाडेर फरार भएको डिभिजन प्रमुख हेमन्त कुमार साहले बताएका छन्। बरामद गरिएको काठ, सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय रौतहटमा राखिएको उनले जानकारी दिए।
काठको नाप जाँच तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको, फरार तस्करहरूको खोजी कार्य जारी रहेको प्रमुख साहले ले जानकारी दिएका छन्।