बाग्लुङ्ग ,२९ माघ//
पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको चुनाव उम्मेदवारबीचमात्र नभई देशलाई विध्वंस गर्ने तत्व र प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र सबै खाले अतिवाद र विध्वंसकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनुपर्छ भन्ने प्रवृत्तिबीच प्रतिस्पर्धा हुने बताएका छन् ।
बागलुङको बुर्तिबाङमा कार्यकर्तामाझ उनले यो चुनावलाई राष्ट्रको बृहत्तर हित, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने लडाइँका रूपमा लिन आग्रह गरे ।
उनले भने, ‘भदौ २४ देखि २६ गतेसम्म झण्डै यो देशमा राज्यविहीनताको स्थिति देखापर्यो । कसले चलाएको छ यो देशलाई भन्ने प्रश्न बडो गम्भीर ढंगले देखापर्यो । सामान्य रूपले मात्रै नसोचेर एउटा निर्वाचन अभियानका रूपमा मात्रै नसोचेर यो राष्ट्रको रक्षा गर्ने र राष्ट्रलाई गुलाम बनाउने प्रवृत्तिका बीचमा लडाइँ, यो राष्ट्रलाई जलाएर ध्वस्त पार्न चाहने र यो राष्ट्रलाई जसरी पनि सुदृढ र समृद्ध बनाउन चाहने प्रवृत्तिका बीचको छिनाझपटीका रूपमा यो निर्वाचन छ ।’
सोसियल मिडियाबाट थुप्रै फेक न्युजहरू र भ्रामक कुरा गरेर कन्फ्युजनमा पार्ने गरी जनताको दिमाग खराब गर्ने काम भइरहेको प्रचण्डले बताए ।
विश्व भू-राजनीति अहिले नयाँ किसिमको प्रतिस्पर्धा र सङ्क्रमणतिर अगाडि बढेको भन्दै उनले ठूला देश चीन र भारतको बीचमा रहेको नेपाल साँढेको जुधाई, बाछाको मिचाइ हुने त हैन भन्ने त्रासमा बाँच्नुपर्ने स्थिति बनेको टिप्पणी गरेका छन् ।
‘रुस-युक्रेनको युद्ध । युक्रेनका पछाडि को छ ? अस्ति भर्खरै भेनेजुएलामा के भयो ? त्यहाँ एउटा सार्वभौम स्वतन्त्र राष्ट्रको निर्वाचित राष्ट्रपतिलाई अपहरण गरेर लैजाने काम कुन मानवअधिकार, कुन अन्तर्राष्ट्रिय कानुन, कुन मान्यता अनुसार भयो भन्दा अब जसको लाठी उसैको भैँसी भने जस्तै जङ्गली राज जस्तो देखिँदैन र यो ?’ प्रचण्डको प्रश्न थियो ।
-साभार नेपाल प्रेस