माघ २८, रौतहट
रौतहटको बृन्दावन नगरपालिका–७ स्थित सखुवा धमौरामा बुधबार आयोजित एक विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब पाँच सयभन्दा बढी नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहमा एमालेप्रति बढ्दो आकर्षण देखिएको भन्दै आयोजित उक्त कार्यक्रमले क्षेत्र नं. ४ को राजनीतिक माहोललाई थप तातो बनाएको छ ।
कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा चुनाव परिचालन कमिटीका भोल्नटियर क्षेत्र नं. ४ का संयोजक शेख सदरे आलमको विशेष पहलमा सम्पन्न भएको हो । वडा कमिटी अध्यक्ष जुलफिकार मंसुरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नं। ४ की निवर्तमान प्रचार–प्रसार प्रमुख आरती भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । त्यसैगरी प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर गोले र क्षेत्र नं।४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी परित्याग गरेका सयौँ नेता तथा कार्यकर्ताले एमाले रोजेका हुन् । नवप्रवेशीहरूको तर्फबाट बोल्दै समुद अन्सारीले देशलाई सही दिशा दिन सक्ने एकमात्र शक्ति एमाले नै रहेको दाबी गर्दै गाउँ–समाजको विकास र स्थायित्वका लागि सामूहिक रूपमा एमालेमा प्रवेश गरेको बताए । उनले अब स्थानीय तहदेखि केन्द्रसम्म स्थिर र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
नवप्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य आरती भण्डारी, प्रदेश कमिटी सदस्य एवं गरुडा नगर निर्वाचन संयोजक कलिमुल्लाह, जिल्ला कमिटी सचिव बाबुराम दाहाल, भूमि आयोग जिल्ला अध्यक्ष अखिलेश चौधरी, पूर्व केन्द्रीय सदस्य उद्वव रेग्मी लगायतका नेताहरूले फूलमाला तथा दोसल्ला ओढाएर स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी साहले आफू निर्वाचित भए प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी युवा तथा महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सिलाई–कढाई, हाते कढाई, मस्यौरा बनाउने लगायतका सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको बताए । साथै, घरेलु उद्योग प्रवद्र्धन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने रणनीति समेत अघि सार्ने उल्लेख गरे ।

साहले प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक जना एमबिबिएस डाक्टरको व्यवस्था गर्ने र सुलभ रूपमा औषधि उपलब्ध गराउने योजना आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले भने, “महिला अब घरको चुलो–चौकामा सीमित रहने समय सकिएको छ। अवसर पाएमा महिला कुनै पनि क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छन् ।” उनले वृद्धभत्ता, बालबालिका भत्ता तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।
.jpeg)
प्रमुख अतिथि आरती भण्डारीले रौतहट–४ मा एमाले उम्मेदवार रामजी साहलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर सक्रिय हुन आग्रह गरिन् । उनले मतदातासामु शिक्षित, सक्षम र विकासप्रति प्रतिबद्ध युवा उम्मेदवारलाई जिताएर नयाँ इतिहास रच्ने अवसर आएको बताइन् । आगामी फागुन २१ गते हुने मतदानमा उत्साहपूर्वक सहभागी हुन उनले अपिल गरिन् ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य कलिमुल्लाह, जिल्ला सचिव बाबुराम दाहाल, भूमि आयोग अध्यक्ष अखिलेश चौधरी, पूर्व केन्द्रीय सदस्य उद्वव रेग्मी तथा बृन्दावन नगरपालिका–४ का वडा अध्यक्ष प्रत्याशी रामकल्याण यादवले पनि मन्तव्य राख्दै एमालेप्रति जनताको विश्वास दिनप्रतिदिन बढ्दै गएको दाबी गरे ।

स्थानीय तहमा अन्य दलका प्रभावशाली नेता–कार्यकर्ताको एमाले प्रवेशसँगै रौतहट–४ को चुनावी समीकरणमा महत्वपूर्ण परिवर्तन आउने आँकलन गरिएको छ । नेताहरूले जनताको साथ र समर्थनले आगामी निर्वाचनमा एमालेले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।