चन्द्रपुर, २७ असोज/ नमुना इङ्गलिस आवासीय विद्यालय, चन्द्रनिगाहपुरमा ‘२६औं वार्षिक खेल सप्ताह’को भव्य शुभारम्भ भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रम विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्त्व स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठ र सञ्चालक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो।उहाँहरूले शिक्षकहरूलाई विभिन्न खेलकुद सामग्रीहरू हस्तान्तरण गर्दै खेल सप्ताहको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै प्रिन्सिपल लोक श्रेष्ठले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले विद्यालयले शिक्षासँगै खेल र अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई ‘पढाइसँगै खेलमा पनि उत्कृष्ट हुन’ प्रोत्साहन गर्नुभयो। सञ्चालक लक्ष्मी श्रेष्ठले पनि विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद अपरिहार्य भएको बताउँदै खेल सप्ताहलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो।
विद्यालयका खेल सप्ताह संयोजक वसन्त सुब्बाका अनुसार यस वर्षको खेल सप्ताहमा क्रिकेट, फुटबल, भलिबल, तेक्वान्दो, खो-खो, टेबलटेनिस लगायतका लोकप्रिय खेलहरू समावेश गरिएको छ। खेलहरू विद्यालयकै खेलमैदान र खेलकक्षमा सञ्चालन हुनेछन्। सुब्बाका अनुसार प्रतियोगितामा प्ले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन्।
विद्यालयका विद्यार्थीहरू समूहगत र व्यक्तिगत खेल दुवैमा प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्। खेल सप्ताहको अन्त्यसम्म विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार ‘खेल सप्ताह’ केवल प्रतिस्पर्धा होइन, विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र सहकार्यको भावना जगाउने माध्यम पनि हो। यसै सन्देशका साथ विद्यालयले आगामी दिनमा खेलकुद र अतिरिक्त क्रियाकलापलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
२६औं वार्षिक खेल सप्ताह असोज ३० गतेसम्म निरन्तर सञ्चालन हुने र समापन कार्यक्रममा विजेताहरूलाई पुरस्कार वितरण गरिने विद्यालयले जानकारी दिएको छ। विद्यालय प्रशासनका अनुसार खेल सप्ताहले विद्यार्थीहरूबीच सौहार्द, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।