रौतहट, २ भाद्र / आफूलाई श्रीमानले अत्याचार गरेको भन्दै विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै हिँडेकी चन्द्रपुरकी रोशनी कुमारी साह ले अदालतलाई पनि गुमराहमा राखेर झुटा विवरण पेश गरेको पाइएको छ । श्रीमान मिश्रीलाल साहले रौतहट जिल्ला अदालतमा दायर गरेको अंशबण्डा मुद्दामा प्रतिउत्तर लगाउँदै रोशनी कुमारीले आफ्नो नाममा रहेको जग्गा आफ्नी दिदी ललिता कुमारी रौनियारसँग रु। १९ लाख ऋण कर्जा लिएर किनेको बताएकी छिन् ।
सो मुद्धामा रोशनी कुमारी साहले जिल्ला अदालत रौतहटमा २०८० बैशाखमा लगाएको प्रतिउत्तरमा भनेकी छिन्, ‘म प्रतिवादी रोशनी कुमारी साहले माथी उल्लेखित कि.नं. ३७०२ को ०–०–८–८ जग्गा खरिद गर्नको लागि जिल्ला रौतहट गा.वि.स. गढो वडा नं.५ हाल ऐ. माधवनारायण न.पा. वडा नं.९ मा बस्ने जितेन्द्र प्रसाद साहको पत्नी ललिता कुमारी रौनियारबाट मिति २०७५ साल श्रावण १० गतेमा रु.१९,००,०००।– ऋण कर्जा लिएको तिर्न बुझाउन बाँकी नै रहेको छ । यसमा लेखिएको व्यहोरा ठिक साँचो हो झुठा ठहरे कानुन बमोजिम सहुला बुझाउँला ।’ नाताले जितेन्द्र प्रसाद साह रोशनी कुमारी साहको भिनाजु हुन भने ललिता कुमारी रौनियार दिदी ।
ईहाइवेन्यूजलाई समाचार श्रोतले उपलब्ध गराएको कागजातमा भने रोशनी कुमारी साहले अदालतमा दावी गरे बमोजिम केही नरहेको भेटिएको छ । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा साविक चन्द्रनिगाहपुर गाविस वडा नम्बर २ मा रहेको ०–०–८–८ क्षेत्रफलको ३७०२ कित्ता नम्बरको जग्गाको लिखतमा जम्मा ५ लाख १० हजारमा सो जग्गा किनेको पाइएको छ ।
मिति २०७६ असोज ८ गते पारित लिखतमा सो जग्गा साहले गणेश पौडेलबाट ५ लाख १० हजार रुपैयांमा खरिद गरेको खुलेको छ । जग्गा पास गर्ने बेलामा रजिष्ट्रसन दस्तुर वापत रु। १७ हजार ८५० पनि तिरिएको छ । यसरी ५ लाख १० हजारमा किनीएको जग्गालाई १९ लाखमा किनेको भनेर अदालतलाई गुमराहमा राख्ने काम कानुन विपरित भएको जानकारहरु बताउँछन् ।
यस विषयमा हामीले रोशनी कुमारी साहका श्रीमान चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहलाई सोध्दा उनले आफुहरुको बिचमा सम्बन्ध राम्रो भएको बेला ऋणधन गरेर ५ लाखमै सो जग्गा श्रीमतीको नाममा किनिदिएको स्विकार्छन् । उनले आफु र आफ्ना दुइ सन्तानहरुको भविष्यको लागि काम लाग्ने भन्दै संयोगले सस्तोमा पाएको बेला सो जग्गा किनेको बताउँछन् । आफुले आफ्नी श्रीमतीलाई अथाह माया र विश्वास गर्ने भएकाले श्रीमतीकै नाममा जग्गा किनेको उनको दावी छ ।
तर आफुले दुःख गरेर आफ्ना सन्तानहरुको लागि किनेको जग्गा रोशनी कुमारी साहले आफ्ना दिदी भिनाजुको नाममा पास गर्ने सुचना पाएपछि अंशवण्डाको मुद्धा दायर गरेको उनले सुनाए । ‘मैले मेरा सन्तानहरुको लागि भनेर किनिदिएको जग्गा अरुलाई खान कसरी दिनसक्थे र ?’ साहले भने, ‘त्यसैले मैले जिल्ला अदालतमा अंशवण्डाको मुद्धा हालेर सो जग्गा रोक्का गर्नुपर्यो । यदि यो जग्गा उनका दिदीभिनाजुको नाममा पास हुनपाएको भए मेरा सन्तान माथि ठुलो अन्याय हुन्थ्यो । ’
साहले अदालतमा रोशनी साहले सापटी लिएको भनिएको उनका भिनाजु जितेन्द्र प्रसाद साहको कमाई अनुसार त्यति धेरै पैसा सापटी दिनै नसक्ने दावी गरे । नेपाल प्रहरीको प्रहरी नायव निरिक्षक (सई) पदमा कार्यरत साहले प्रहरीको तलबबाट मात्रै एकमुष्ट त्यतिधेरै पैसा कसैलाई सापट दिन नसक्ने दावी गरे । ‘सामान्य कर्मचारीको तलबबाट मात्रै कसरी त्यतिधेरै पैसा एकमुष्ट दिन सम्भव छ’ साहको प्रश्न छ, ‘ कि त उनले मैले कानुन विपरित भ्रष्ट्रचार गरेर कमाएको हुँ भन्नुपर्यो , नभए रोशनी कुमारी साहले अदालतमा झुट बोलेको भन्नुपर्यो ।’
पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा आएको रोशनी कुमारी साहको भिडियोहरूमा उनले यो जग्गा आफ्नो श्रीमान मिश्रीलाल साहको सहयोगमा आफुले जोगाएर किनेको बताउँदै आएकी छिन्। उनले अदालत, मिडिया, अधिकारकर्मी समक्ष गरेको बेग्लाबेग्लै कुराहरुले उनले झुट बाहेक अरु नबोल्ने प्रष्ट भएको श्रीमान मिश्रीलाल साहको कथन छ। उनी भन्छन्, 'रोशनीले व्यक्ति पिच्छे आफ्ना वयान र कुराहरु फेरिरहेकी हुन्छिन्। उनले भनेका कुराहरु पत्याउने कुनै आधार छैन् । उनले अदालतमा भनेजस्तै १९ लाख दिदी भिनाजुबाट ऋण लिएको भए त्यति ठुलो रकम ऋण दिन म घरको अभिभावकसँग एकपटक त दिदी भिनाजुले सोध्थे होलान्, सल्लाह लिन्थे होला । तर एकवचन यो विषयमा हाम्रो कुरा भएको छैन्। त्यसैले ऋण लिएको भन्ने कुरा कपोलकल्पित हो ।'
अदालतले न्याय सम्पादनको क्रममा यस्ता तथ्यहरुलाई पनि विचार गर्नुपर्ने साहको जिकिर छ । उनले रोशनी कुमारी साहले ‘महिला सेन्टिमेन्ट’ को प्रयोग गरेर समाज, मिडिया, प्रहरी प्रशासन मात्र नभएर न्यायलयलाई पनि गुमराहमा राखेको भन्दै बिस्तारै साहको झुटको पर्दाफास हुने र आफुले न्याय पाउने विश्वास व्यक्त गरे ।