चन्द्रपुर, २१ श्रावण / नेतृत्व चयनका लागि भइरहेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा बिहान साढे ११ बजेसम्म ३ सय मत खसेको छ । निर्वाचन संयोजक दिलीप कोइरालाले दिनुभएको जानकारी अनुसार कुल १ हजार ९७ मतदाता रहेको सङ्घमा साँझ ५ बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको छ। मतदान गर्न आउँदा नेपाल सरकारबाट जारी भएका कुनै पनि परिचय खुल्ने कागजात अनिवार्य लिएर आउनुपर्ने र मतदान स्थलभित्र मतदाताले मोबाइल, प्रजननशील पदार्थ लगायतका कुनै पनि अतिरिक्त सामग्री लैजान नपाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
बिहान ८ बजेदेखि सुरु भएको निर्वाचनमा बिहानैदेखि मतदाता तथा उम्मेदवारहरूको चहलपहल बढी रहेको छ। मतदाताहरू लामबद्ध भएर आफूले चाहेको उम्मेदवारलाई मतदान गरिरहेका छन्। अध्यक्ष सहित १३ सदस्य कार्यसमितिको लागि हुन गइरहेको यस निर्वाचनमा १२ जना सदस्यहरू यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन्। अहिले अध्यक्ष पदका लागि मात्र निर्वाचन भइरहेको छ। अध्यक्ष पदमा पूर्व महासचिव सुनिल कुमार साह र निवर्तमान वर्तमान अध्यक्ष उदयनारायण सापकोटा चुनावी मैदानमा छन्। दुवै उम्मेदवारहरू निर्वाचनस्थलमा आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन्। आफूले जितेमा व्यावसायिक हकहितको लागि कार्यहरू गर्ने र भवनका अधुरा कामहरू पूरा गर्ने प्रतिबद्धता दुवै उम्मेदवारहरूले व्यक्त गरिरहेका छन्। दुवै बीचको चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा व्यवसायीहरूले गरेका छन्।