रौतहट, २२ असार/ सशस्त्र प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको छ। असार २१ गते साँझ करिब ६ १५ बजेतिर रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित जङ्गलसैया सिम्री भित्री सडक खण्ड स्थित जङ्गल इलाकामा सशस्त्र प्रहरी बल नेपाल फर्वार्ड सुरक्षा बेस जङ्गलसैयाबाट खटी गएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषध सहित नियन्त्रणमा लिएको गरेको सशस्त्र प्रहरी वल नम्बर ११ गण हेडक्वाटर, रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका ८ बस्ने १८ वर्षीय माइला भन्ने नवबहादुर वाइवा र सोही ठाउँ बस्ने १९ वर्षीय दावा योञ्जन रहेका छन्। झोलामा लुकाई छिपाई ४ सय ४८ थान विभिन्न लागूऔषध ल्याइरहेका उनीहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरमा बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।