असार १९ गते ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक ३० वर्षीय रोहित साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। स्थानीय स्रोतका अनुसार रोहित साह बिहान करिब ७ः१५ बजे आफनै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने प्रयास गर्दै थिए।
मोटर चलाउने क्रममा विद्युत प्रवाह भएको पाइप वा तारबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। करेन्टको झट्काले उनी घटनास्थलमै लडेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो।
गम्भीर अवस्थामा रहेका रोहितलाई तत्कालै उपचारका लागि एम्बुलेन्समार्फत बारा जिल्लाको प्रादेशिक अस्पताल, कलैयातर्फ पठाइएको थियो। तर उपचारकै क्रममा बिहान करिब ८ः०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले पुष्टि गरे। मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयाको शवगृहमा राखिएको छ।
पोस्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक रोहित साह सोनार स्थानीयस्तरमा कृषिमा सक्रिय थिए। उनी बिहान बिहान खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा लापरवाहीका कारण करेन्टमा परेका हुन् भन्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ।स्थानीय बासिन्दाहरूले घटनाप्रति दुःख व्यक्त गर्दै सिँचाइका क्रममा सुरक्षाका उपाय नअपनाउँदा यस्ता घटना दोहोरिने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।
त्यसतै त्यसतै रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका–८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । गुजरा नगरपालिका–६ बेदौलीस्थित लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।