असार १९ गते ।
रौतहटको गौरबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयां नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । मंगलवार दिउंसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउंदै गरेका राउतलाई गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर रकम ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।
बरामद भएको नगद सहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।