असार ०१, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका(१ स्थित जयनगरमा आज बिहान चट्याङ्ग लागेर एक ६५ वर्षीय वृद्धको ज्यान गएको छ । स्थानीय बासिन्दा सियाराम वनियाको आज बिहान करिब ८ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले पुष्टि गरेको छ ।इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डिएसपी)
राजन कार्कीका अनुसार बिहान एक्कासि मौसम बदलिएर पानी परिरहेको बेला वनिया आफ्नो घर अगाडि बाँधिएको बाख्रा फुकाउने क्रममा थिए । सोही क्रममा आकस्मिक रूपमा चट्याङ्ग पर्दा उनी गम्भीर घाइते भएका थिए ।
घटनापछि स्थानीयवासी र परिवारजनको सहयोगमा गम्भीर अवस्थामा रहेका वनियालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
डिएसपी कार्कीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि शव परिवारको जिम्मा दिइनेछ । यद्यपि घटनाको बारेमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण संकलनको कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस घटनाले स्थानिय बासिन्दामा ठूलो दुःख र चिन्ता उत्पन्न गराएको छ । प्राकृतिक प्रकोपको यस्तो घटनाबाट भविष्यमा कसरी सतर्कता अपनाउने भन्नेबारे स्थानीय तह र सुरक्षासंस्थाहरू पनि सचेत भइरहेको जानकारी प्राप्त भएको छ । प्रहरी प्रशासनले यस्ता प्राकृतिक प्रकोपबाट जोगिन सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
विशेष गरी चट्याङ्ग पर्ने बेला खुला ठाउँ, रुखमुनि, धातुजन्य वस्तुको नजिक नजान र सम्भव भएसम्म घरभित्र सुरक्षित रहन सुझाव दिएको छ ।त्यसतै यदि यस्ता घटना बारे थप जानकारी वा सहयोग आवश्यक परेमा इलाका प्रहरी कार्यालय, गरुडाको सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।