चन्द्रपुर, ३१ जेठ / रौतहटको चन्द्रपुर नगरपालिका–५ निवासी १७ वर्षिय विज्ञान खड्का दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिपका लागि प्रारम्भिक राष्ट्रिय टोलीमा छनोट भएका छन् । यससँगै उनी राष्ट्रिय पुरुष टोलीको ढोकासम्म पुग्ने सम्भवत पहिलो रौतहटबासी खेलाडी बनेका छन् । यो उपलब्धिले रौतहट विशेषगरी चन्द्रपुरको फुटबल इतिहासमा नयाँ मोड ल्याएको छ । अहिलेसम्म राष्ट्रिय महिला फुटबलमा चन्द्रपुरले प्रभावशाली योगदान दिएको भए पनि पुरुष फुटबलमा खासै प्रतिनिधित्व देखिएको थिएन । विज्ञानको यो छलाङसँगै चन्द्रपुरका युवा खेलाडीहरूमा पनि उत्साह थपिएको छ ।
महिला खेलाडीको सफलता, पुरुषको प्रतीक्षा
चन्द्रपुर–४ स्थित शेरबहादुर दर्लामी स्मृति खेलमैदानबाट करिब दुई दर्जन राष्ट्रिय महिला फुटबलर उत्पादन भएका छन् । तीमध्ये सात जना अहिले पनि राष्ट्रिय महिला टोलीमा सक्रिय रूपमा खेलिरहेकी छन् । तर, त्यही मैदानमा अभ्यास गरेका पुरुष खेलाडी भने राष्ट्रिय टोलीसम्म पुग्न सकेका थिएनन् । यसअघि रौतहटका नुरराज काफ्ले मात्र एकपटक एन्फा एकेडेमीको दोस्रो ब्याचमा छनोट भई राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । विज्ञान खड्काको वर्तमान उचाइले पुरुष खेलाडीहरूका लागि पनि राष्ट्रिय स्तरमा पुग्न सकिने आशा जगाएको छ ।
फुटबलप्रतिको मोह , विक्रम गुरुको साथ
चिडियादह मैदानबाट सुरु भएको यात्रा विज्ञानको फुटबल यात्रा चन्द्रपुर ५ मा रहेकोे चिडियादह खेल मैदानबाट सुरु भएको हो । पूर्व नेपाली सेनाका तथा खेलाडी भोजराज घिमिरे, जसलाई विज्ञान ‘विक्रम गुरु’ भन्छन् , उनले साँझपख स्थानीय बालबालिकालाई फुटबल प्रशिक्षण दिन्थे । त्यही समूहमा परेका विज्ञानले आठ कक्षा पढ्दासम्ममा फुटबलप्रतिको मोह विकास गरे । घरपरिवारले प्रारम्भमा फुटबलमा समय खर्चन नदिएको र पढाइमै केन्द्रित रहन दबाब दिएपनि विज्ञान गुरुको प्रेरणा, स्थानीय क्लबको समर्थन र आफ्नो लगावले गर्दा उनी फुटबलमै केन्द्रित रहन सफल भए ।
एन्फा एकेडेमी छनोट र काठमाडौंको संघर्ष
वि.सं. २०७६ सालमा काठमाडौंमा भएको एन्फा एकेडेमीको यू–१३ छनोटमा विज्ञान भाग लिन गएका थिए । सुरुमा उनी ८१ जनाको सूचीमा परे पनि छनोट नभएको सूचना पाएर चुपचाप चन्द्रपुर फर्किएका थिए । केही दिनपछि एन्फाबाट फोन आएपछि उनी पुनः काठमाडौं फर्किए र एकेडेमीमा औपचारिक रूपमा भर्ना भए । काठमाडौंको जीवन विज्ञानका लागि सजिलो थिएन । होस्टेलमा रहँदा साथीसँगको दूरी, घरको सम्झना, पढाइको चाप जस्ता समस्याले उनलाई धेरैपटक मानसिक रूपमा असर गर्यो । एकपटक दिदीसँग बस्न होस्टेल छाडेका विज्ञानलाई आमा र गुरुले पुनः फुटबल खेल्न प्रेरित गरे । उनले आफूलाई सम्हालेर अभ्यासमा फर्काए ।
एनआरटीमार्फत व्यावसायिक अभ्यास
एकेडेमीमा छनोट भएपछि विज्ञान न्युरोड टिम (एनआरटी) मा आवद्ध भए । एनआरटीले उनलाई निरन्तर अभ्यास, प्रशिक्षण र प्रतिस्पर्धात्मक खेलहरूमा सहभागी गराउँदै व्यावसायिक खेलाडीका रूपमा विकास गरिरहेको छ । खेलाडीका रूपमा उनी मिडफिल्डमा बल नियन्त्रण, पास वितरण र गोल सिर्जना गर्ने क्षमताका लागि चिनिन्छन् । उनले फ्रान्सेली खेलाडी ओस्मान डेम्बेले, अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी र नेपाली खेलाडी अञ्जन विष्टबाट प्रेरणा लिएको बताउँछन् ।
अन्तर्राष्ट्रिय उपलब्धि
यू–१७ साफ च्याम्पियनसिपमा गोल २०२२ मा भुटानमा सम्पन्न यू–१७ साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि ४–० को जित दर्ता र्गयो । त्यही खेलमा विज्ञानले ८४औं मिनेटमा गोल गरे । गोलपछि मैदानमै आँसु खसालेका विज्ञानले आफूलाई रोक्न नसकेको बताएका थिए । उनले भनेका थिए, ‘राष्ट्रिय टिमबाट गोल गर्नु मेरो सपना थियो। त्यो पूरा भएपछि म आफैंलाई सम्हाल्न सकिनँ।’ यस उपलब्धिले उनलाई मात्र होइन, चन्द्रपुर र रौतहटका सयौं युवालाई राष्ट्रिय स्तरको सपना देख्ने हौसला दिएको छ ।
पारिवारिक सहयोग र भविष्यको लक्ष्य
अहिले विज्ञानका परिवारले उनको फुटबल यात्रालाई पूर्ण समर्थन गरेका छन् । उनको अनुशासन, लगाव र मेहनत देखेर परिवार गर्व महसुस गर्छ । विज्ञानले आफू अझ धेरै मेहनत गरेर एक दिन सीनियर राष्ट्रिय टिममा पुग्ने दृढ निश्चय व्यक्त गरेका छन् । उनी भन्छन्, ‘सीनियर टिममा पुग्न अझै धेरै सिक्न बाँकी छ । तर निरन्तर अभ्यास, मेहनत र विश्वासले त्यो सपना पुरा गर्न सकिन्छ।’
फुटबलको भविष्य , चन्द्रपुरमा नयाँ प्रेरणा

विज्ञानको सफलताले चन्द्रपुरमा पुरुष फुटबलका लागि नयाँ प्रेरणा थपेको छ । अहिले चन्द्रपुरमा केही स्थानीय क्लबहरू बालबालिकालाई नियमित प्रशिक्षण दिइरहेका छन् । विज्ञानलाई हेरेर अन्य किशोरहरू पनि फुटबलमा लाग्न थालेका छन् । स्थानीय क्लबहरूको सक्रियताले गर्दा आगामी दिनमा थप खेलाडीहरू उत्पादन हुने विश्वास गरिएको छ ।
निष्कर्ष
विज्ञान खड्काको फुटबल यात्रा एक प्रेरणादायी कथा हो—चन्द्रपुरको माटोमा हुर्किएको एउटा साधारण केटाबाट राष्ट्रिय टिमसम्मको उडान । संघर्ष, प्रतिबद्धता, र अवसरको समन्वयबाट उनले पुर्याएको उपलब्धिले रौतहटका लागि मात्र होइन, देशैभरका युवाका लागि प्रेरणा दिनेछ । यदि उनले आगामी दिनमा सीनियर राष्ट्रिय टिममा स्थान बनाउन सफल भए, त्यो रौतहटका लागि ऐतिहासिक उपलब्धि हुनेछ ।