चन्द्रपुर २ चैत
करिब २ महिनादेखि घाइते अवस्थामा जंगलमा अलपत्र हात्ती ‘यमजग’ अब चिकित्सकको निगरानीमा रहने भएको छ । चन्द्रपुर–३ स्थित आर्दश सामुदायिक वन उपभोक्ता समुहको नर्सरीमा खुट्टा खोच्याएर सामान्य हिँडडुल गर्दै आएको यमगजको चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएका चिकित्सक टोलीको निगरानीमा रहने भएको हो । पर्सा राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको ‘यमगज’ को खुट्टामा गम्भीर चोट छ ।राम्रोसँग हिँड्न नसकिरहेको यमगजको बिहीबार फेरि उपचार गरिएको छ । संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोलीले घाइते ‘यमगज’लाई नर्सरीमा डार्ट गरेर एन्टीबायोटिक दिएको छ । यसअघि बेहोस गरेर उपचार गरिए पनि यसपटक चिकित्सकले लठ्याएर उभिएकै अवस्थामा उपचार गरेको हो । पहिलो डोजले काम नगरे पछि उनलाई दुई पटक टार्ड गरिएको थियो । त्यस पछि जेसिबि माथि चढेर चिकित्सक टोलीले उनलाई पछाडि भागमा दर्जनौं एन्टिबायोटिक सुई लगाएको छ ।चिकित्सक सडौलाले यमगजलाई ७२ घण्टासम्म अवस्था ठिक हुने एन्टिबायोटिक दिएको बताए । ‘अब केही समय हाम्रो निगरानीमा रहने छ,’ उनले भने,‘यो अवधिमा पनि ठिक भएन भने पुन अर्को डोज थप्छौं ।’ यमगजको निगरानीका लागि चिकित्सकको टोली अहिले चन्द्रनिगाहपुरमा बसेको छ । टोलीले नर्सरी वरपर हात्ती बसेको स्थान छेउका स्थानीयलाई समेत यमगजको ख्याल राख्न अनुरोध गरेको छ । गत फागुन १ गते सडौलाकै टोलीले जुडिबेला–२ स्थित हिलेखोला जंगलमा डार्ट गरेर उपचार गरेर छाडेको थियो । टोलीले एक घण्टा लगाएर उपचार गरेको थियो ।
त्यसबेला खुट्टाको घाउको भित्रीभागसम्म पिप जमेकाले त्यसलाई सफा गरेर एन्टिबायोटिक दिइएको थियो । तर सुधार नभए पछि टोलीले दोस्रो पटक उपचार गरेको हो । यमगजको अगाडिको दाहिने खुट्टामा सुन्निएको छ । उपचार नगरेको भए घाउ बढ्दै गएर अवस्था झन् नाजकु हुने चिकित्सको भनाई छ ।सिकारी सलबलाउने जंगलमा घाइते हात्ती बस्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । वडा–३ का अध्यक्ष रवि देवकोटाले निकुञ्जमै लगेर हात्तीलाई सुविधासम्पन्न केन्द्रमा उपचार गराउन माग राख्दै आएका छन् । २०७० चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको गैंडालाई गोली हानी घाइते बनाइएको थियो । घाइते गैंडा उपचारका क्रममा दुई महिना पछि बित्यो । त्यही घटना यमगज माथि नहोस् भनेर स्थानीय पिर गर्न थालेका छन् । सामुदायिक वनको बाटो छेउमै शिथिल अवस्थामा सुड रुखमा अडाएर बसेको यमगजको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यमगजलाई हेर्न हरिया मकैको घोगा बोकेर पुग्ने मानिसको भीड हुन्छ । त्यसपछि तस्बिर र भिडियो खिचेर फर्कन्छन् ।
यमगज खुट्टा खोच्याउदै पानी पिउन चादी नदीमा पुग्छ । मानिसको आवागमन र होहल्ला पछि बिस्तारै फेरि नर्सरीमै फर्कन्छ । खुट्टाको घाउको कारणले प्रायः एकै ठाउमा बसेर रुखको हागामा सूड अड्याउछ । हात्ती हेर्न आएको भिड बढे पछि चिकित्सकलाई यसपटक उपचारमा सकस परेको थियो । भिड हटाउन नेपाल प्रहरी, सशस्त्र र वनरक्षकको टोली खटिएको थियो । स्थानीयले निकुञ्जमा लैजान माग गरे पनि चिकित्सक सडौलाले सम्भव नभएको बताए । ‘यसलाई लैजान सिजलो छैन् । लठ्याएर लैजान हात्तीलाई सम्भव छैन,’ उनले भने,‘नेपालमा वन हात्तीलाई उद्धार गरेर अहिलेसम्म एक स्थानबाट अर्को स्थानमा लैजाने गरिएको छैन् ।’ चिकित्सक पनि यमगजको खुट्टामा कसरी घाउ भयो भन्ने उनीहरु अन्यौल छन् । हात्तीको दाहिने खुट्टामा गोली हानियो वा धारिलो भाला रोपियो अझै शंकास्पद छ । पर्सा निकुञ्जबाट आएको यमगज सुरुमा आक्रामक थियो । खुट्टा सुनिन थालेपछि यमगजको गतिविधि शिथिल हुदै गएको हो । यसले दुई महिनाअघि जुडिबेला गाउका ३÷४ वटा घर भत्कायो । घाइतेपछि अहिले दुब्लाएर कमजोर बनेको छ । यमगजले एक वर्षअघि मकवानपुर र बाराको कोल्हवीमा स्थानीय माथि आक्रमण गरेको थियो ।