रौतहट, १६ माघ / चन्द्रनिगाहपुरको सिटी जेसिजको एघारौं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार साँझ आयोजित एक कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसिजका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको पदस्थापना गरिएको हो। सो कार्यक्रममा सो संस्थाका ननिर्वाचित अध्यक्ष जितेन्द्र रौनियारलाई संस्थाका पूर्व अध्यक्षहरूले पदस्थापना गराउनु भएको हो। नवनिर्वाचित अध्यक्ष रौनियारले अन्य पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो। संस्थाको कार्यकारीणी उपाध्यक्षमा भिमराज अधीकारी, सन्तोष पुलामी मगर, महासचिवमा जीवन कटुवाल , उपाध्यक्षमा सुदिप राज गिरी , सुजता पौडेल, मो. नौसाद आलम , युवराज कार्की निर्वाचित हुनुभएको छ।
पदभार ग्रहणपछि बोल्नुहुँदै अध्यक्ष रौनियारले जेसिज युवाहरूको संस्था भएकाले नयाँ पुस्तालाई सामाजिक कार्यमा अगाडि बढाई व्यक्तित्व विकास गर्न चन्द्रनिगाहपुर सिटी जेसिजले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाहरू समाजका मेरुदण्ड र निर्णायक शक्ति भएकाले यो शक्तिको सहित सदुपयोग गर्न जेसिजले सधैँ उत्प्रेरणा जगाइरहने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले आफू पनि कुनै समय जेसिजको सदस्य भएर काम गरेको स्मरण गर्दै चन्द्रनिगाहपुर सिटी जेसीजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्नुभयो। उहाँले जेसिजले एक व्यक्ति एक कार्यकाल को नीति अपनाएको र सो हरेक क्षेत्रमा लागू हुन सके समय सापेक्ष नेतृत्व विकास हुँदै समाजमा आमूल परिवर्तन हुनसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज भट्टराई समिरले अब युवाहरूले देशका हरेक क्षेत्रको नेतृत्व लिनुपर्नेमा जोड दिँदै यसका लागि जेसिज जस्ता संस्थाहरुले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले युवाहरूले त्यसमा अवसर नपाएको भन्दै विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने र यसका लागि तिनै तहको सरकार गम्भीर भएर योजनाबद्ध ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे, कान्तिपुर दैनिकका उपसम्पादक शिवपुरी नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की, नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की, वरिष्ठ संचारकर्मी अशोक पहाडी, नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण शाखाका प्रमुख धीरेन्द्र कुमार यादव लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको संस्थाका महासचिव जीवन कटुवालले जानकारी दिनुभयो।