रौतहट, ९ माघ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडद्वारा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा कम्बल वितरण गरेको छ। सो कार्यालयको मधेस प्रदेशका ८ वटै जिल्लामा चिसोबाट पीडितहरूलाई कम्बल वितरण गर्ने कार्यक्रम अन्तर्गत यही बुधबार चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित बेल्डीमा रहनुभएका अपाङ्ग अशक्त तथा अतिविपन्न ३० जनालाई कम्बल वितरण गरिएको शाखा प्रमुख जीवन कटुवालले जानकारी दिनुभयो ।
इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत चिसोमा न्यानो कपडा , ओढ्ने ओछ्याउने नभएकाहरूलाई थोरै भएपनि राहत दिन यो कार्यक्रमको गरेको कटुवालले बताउनुभयो।
कार्यक्रममा बोल्दै युवा समाजसेवी श्यामहरी चौलागाईले चिसोबाट पीडित जनताहरूलाई राज्यले हेर्नुपर्ने औचित्य जनाउँदै सगरमाथा लुम्बिनी इन्सुरेन्सले गरेको सो कार्यको प्रशंसा गर्नुभयो। उहाँले सरकार, नागरिक र निजी क्षेत्र सबै मिलेर पीडामा परेका नागरिकको सहयोगको लागि एकजुट हुनुपर्नेमा जोड दिँदै पछाडि परेको समुदायको विकासको लागि राज्यले ठोस नीति र बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा चन्द्रपुर ६ का वडा सदस्यहरु सन्नी राउत, करियोद चौधरी,सपना परियार लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।