चन्द्रपुर,८माघ
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित अरुण आयल स्टोर्स अगाडि सार्वजनिक बाटोमा मोबाईल चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
मध्यरातमा रौतहट माधवनारायण नगरपालिका वडा नं. १, दिपही टोलका हेमचन्द्र राय यादव मोबाईलमा कुरा गरिरहेका बेला चन्द्रपुर नगरपालिका वडा नं. ४, पैनी टोलका किसन साहले पछाडिबाट आएर झापडले हिर्काउँदै लछारपछार गरी मोबाईल लुटेका थिए। लुटिएको मोबाईल उनले चन्द्रपुर नगरपालिका वडा नं. ४ मा बस्दै आएकी काली मनिसा उर्फ सोनम साह कलवारलाई दिएका थिए। घटनापछि दुबै जना फरार भएका थिए। प्रहरीको सक्रिय अनुसन्धानबाट उनीहरूलाई मोबाईलसहित पक्राउ गरिएको छ। हाल उनीहरूलाई सम्मानित अदालतबाट म्याद थप गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले सर्वसाधारणलाई यस्ता घटनाबाट सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ। यसैबिच रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा किर्ते, कुटपिट र बहुबिवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए । उनका अनुसार कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देबि, मनिता कुमारी, निलम देबि र उषा कुमारी राम पक्राउ परेका छन् । प्रहरीले किर्तेमा जमिला शेखिन, जमिल अख्तर, शेख अजिज मिया दर्जी, ओली महम्मद र शेख हफिजलाइ पक्राउ गरेको छ । बहुबिवाहको आरोपमा शेख नेपालीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।