गौर,रौतहट प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सितामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोइरी रहेका छन् ।कोइरीले गत वैशाख ९ गते रौतहट परोहा नगरपालिका–२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका–६ माधोपुरबाट अपहरण गरी भारतमा लगेका थिए । उनले परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका थिए ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गर्न सफल भएको हो । कोइरीलाई सर्लाही जिल्लाको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
यसैबिच जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका ४० जना फरार प्रतिवादीलाई यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा २० वर्ष जेल सजाय सुनाइएका कर्तव्य ज्यानका आरोपीदेखि, किर्ते जालसाजी, बिगो जरिवाना र चोरी घटनासम्मका अभियुक्त रहेका छन् ।