चन्द्रपुर,रौतहटको चन्द्रपुर ६ चन्द्रनिगाहपुरमा रहेको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा केही बर्ष अगाडी सम्म सुनसान हुन्थ्यो तर पछिल्लो समय उक्त चिकित्सालयमामा बिरामीहरुको आर्कषण बढेको छ । दिनमा ३÷४ जना मात्र सेवाग्राही आउने उक्त प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा हिजोआज दैनिक ५० जना भन्दा बढी बिरामीहरु उपचारको लागी आउने गरेको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय. चन्द्रनिगाहपुरका सुचना अधिकारी रुप नारायण महतोले जानकारी दिनुभएको छ ।
अहिले यस चिकित्सालयमा रौतहट जिल्लाको मात्रै नभएर छिमेकी मुलुक भारत देखी पनि बिरामीहरु उपचारको लागी आउने गरेको उहाँले बताउनु भयो । अन्य अस्पतालहरुमा उपचार गराएर थाक्नु भएका बिरामीहरु यस आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा आएर निको भएर गएको धेरै उदाहरणहरु भएको कबिराज महतोको भनाइ छ ।
हरेक बर्ष चिकित्सालयमा बिरामीको आउने दर बढेको समेत उहाले जानकारी दिनुभयो । गत आर्थिक बर्ष २०८०÷८१ मा ३१ हजार २ सय ६६ जना बिरामीले यस चिकित्सालयबाट सेवा लिएको महतोले जानकारी दिनु भयो । जसमा १६ हजार १ सय २४ जना पुरुष र १५ हजार १ सय ४२ जना महिला रहेका छन ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रौतहटको प्राप्त तथ्याङक अनुसार सो केन्द्रमा सबैभन्दा बढी सन्धीगत बाथ रोगका बिरामीहरु बढि आउने गरेको पाइएको छ । गत आर्थिक बर्षमा सो रोगका ५ हजार ६ सय २० जनाले उपचार गराएको जनाइएको छ ।
यसैगरी अल्पपित्तका ४ हजार ७ सय २५ जना,जेष्ठ नागरिक ३ हजार १ सय ३३ जनाले उपचार गराउनु भएको तथ्याङकमा उल्लेख गरिएको छ ।
यस्तै गत साउन देखी मंसिर सम्म ४ हजार ३ सय ५२ महिला र ४ हजार ७ सय ५४ पुरुष गरेर ९ हजार १ सय ६ जनाले सेवा लिएको सुचना अधिकारी महतोले जानकारी दिनुभएको छ । यस बर्ष पनि गत बर्ष भन्दा बढी नै सेवाग्राहीहरु आउने उहाले अनुमान गर्नुभएको छ ।
सेवाग्राहीको उक्त केन्द्रमा आर्कषण बढेको भएता पनि भौतिक पुर्वाधारको अभाबले उपचार गर्न असहज भएको सोही प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. शिव शंकर रायले गुनासो गर्नुभएको छ । चिकित्सालयको भवन सानो भएको कारण सेवा दिन एकदमै कठिन रहेको उहाँको भनाइ छ । यति मात्रै नभइ केमिकलको अभाबमा बिरामीहरुको थाइराइड जस्ता रोगहरुको परिक्षण गर्न समेत नसकेको रायले बताउनुभएको छ । प्रदेश सरकारले पठाएको बिभिन्न प्रकारको औषधी ८÷९ महिनामा नै सकिने हुदा औषधीको समेत समस्या हुने गरेको प्रमुख रायले जानकारी दिनुभयो । स्थानिय सरकारले सहयोग नगर्ने र प्रदेश सरकारले समयमा नै औषधी नपठाउने गर्दा सेवामा समस्या पनि रहेको उहांको भनाइ रहेको छ ।
सो चिकित्सालयमा ओपिडी,जेष्ठ नागरिक सेवा(जेष्ठ नागरिकहरुलाइ रसायन औषधी निशुल्क बितरण),स्तनपाइ(आमाहरुलाइ दुध बर्धक औषधी निशुल्क बितरण),बाथको बिरामीको लागी पंचकर्म सेवा,होमियोप्याथिक सेवा र ल्याब सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । सो आयुर्वेद सेवा केन्द्र मार्फत अति आवश्यक २३ प्रकार,स्तनपाइका २ प्रकार र जेष्ठ नागरिकको ३ प्रकारका औषधीहरु निशुल्क दिने गरेको समेत उहाले जानकारी दिनुभयो ।
यता सो चिकित्सालयमा बिरामीहरुको आर्कषण भने बढिरहेको छ । गरुडा ९ कमलपटी खुट्टा दुखेको देखी उपचार गराउन चिकित्सालयमा आउनुभएका कमल सहनीले अन्य अस्पतालमा रोग निको नभएपछि यहा उपचार गराउन आएको बताउनुभएको छ । ७ बर्ष देखी दुखेको खुट्टाको अंग्रेजी औषधीले काम नगरेपछि यहाको औषधी खान थालेपछि काम गरेको सहनीले बताउनु भएको छ । अहिले आफनो रोग धेरै निको भएको र गाउका अन्य मानिसहरुलाइ पनि यही ल्याउने गरेको उहाले बताउनु भयो । स्तनपाइको औषधी लिन आउनु भएकी गढीमाइ ४ मदनपुर बलुवाकी अमृता कुमारी बैठाले पनि यहाको औषधी प्रभाबकारी भएको प्रतिक्रिया दिनुभएको छ ।