गरुडा,२८ पुस
रौतहटको दक्षिणी भेगमा नीलगाईले किसानको बालीमा क्षति पु¥याउँदा यहाँका किसान हैरान बनेका छन् । बौधीमाई नगरपालिकाको इनर्वा र देवाही गोनाहीको देवाही बजारको दक्षिणका किसानले लगाएको गहुँ र दलहन–तेलहन बालीमा नीलगाईले क्षति पु¥याउँदा किसान हैरानी खेप्न बाध्य भएका हुन् । ‘यसबारेमा स्थानीय प्रशासनलाई जानकारी गराइसकेका छौं,’ इनर्वाका किसान सरोज साहले भने, ‘यस क्षेत्रमा बर्सेनि नीलगाईले दुःख दिँदा हैरान भएका छौं ।’नदी छेउको खरघारीभित्र नीलगाई, बँदेल लगायत जनावर आएर बस्ने गर्छन् । यहाँको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुर लगायतका किसानको नदी किनारमा खेत छ । यो क्षेत्रमा वन्यजन्तुले दुःख दिन थालेको पाँच वर्ष बढी भइसकेको साहले सुनाए । आफूहरूको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनिया लगायत बालीमा वन्यजन्तुले क्षति पु¥याउँदै आएको उनले बताए ।
बुनियाद, भसेढवा, लक्ष्मीनिया, गमहरिया, मर्यादपुर, कर्कचकर्मैया, टिकुलिया इनरवारी लगायत गाउँमा वन्यजन्तुले बाली खाइदिने गरेको स्थानीयले बताए । तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले वन्यजन्तुले किसानको बाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज र विभागमा जानकारी गराएका थिए । गत वर्ष बाली खाएर हैरान पारेपछि स्थानीयले घेरा हालेर नीलगाई मारेको बताइएको छ ।
लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेतनजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् ।प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले वन्यजन्तुले गरेको बालनालीको क्षतिबारे गाउँका किसानसित यथार्थ बुझ्ने प्रयास गरिरहेको बताए । यता चन्द्रपुर नगरपालिका क्षेत्रमा पनि एक सातादेखि जंगली हात्तीले स्थानीयको केराखेती र घरमा क्षति पु¥याएको छ ।डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहले हात्ती नियन्त्रणमा लिन निकुञ्जसित समन्वय गरिरहेको बताए ।