रौतहट , ५ मंसिर / रौतहट वचत तथा ऋण सहकारी संघ लिमिटेडको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष विभु पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले विभिन्न प्रतिवेदनहरू पास गरेको छ । कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कून ) का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी राज्यको एउटा बलियो आर्थिक खम्बा भएकाले विद्युतीय वित्त प्रणाली स्तरीकरण र स्थितिकरण कोषको प्रभावकारी सञ्चालनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारी सहित अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सफल अभ्यासहरुलाई नेपालको साकोस अभियानमा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वस्थ र सुरक्षित साकोसहरूको जवाफदेही एकीकृत सञ्जाल भन्ने नेफ्स्कूनको परिकल्पना पूरा गर्न सद्भावपूर्वक सहकार्यको अपेक्षा गर्दै स्थानीय स्तरबाट समेत सुशासित साकोस अभियान निर्माणमा पहलकदमीको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विभू पोखरेलले रौतहट जिल्लामा सहकारी अभियानलाई गति दिने प्रवर्द्धनात्मक र समन्वयनात्मक कार्य गर्ने पवित्र उद्देश्य वोकेर २०५४ असोज १२ गते विधिवत दर्ता भई रौतहट जिल्ला सहकारी अभियानको एक दरिलो खम्वा भएको भन्दै संघले गत चैत्रमा दोश्रो ४ वर्षे रणनितिक योजना निर्माण गरेर “गुणस्तरिय साकोसका लागि शुसासनयुक्त गतिशिल संघ” नारालाई सार्थकता बनाउन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो । उहाँले हिजोआज सहकारी क्षेत्रमा गलत भाष्य प्रयोग गरेर केही खराव सहकारीका गतिविधिलाई आधार मानेर नियोजित हिसावलेनै बदनाम गर्न खोजिएकाले तमाम समस्याहरुलाई समाधान गर्न पारस्परिक एकता, मित्रवत व्यवहार, पारदर्शिता र निरन्तर लगावनै हो भन्ने कुरामा सबै सहकारीहर स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । सभामा अध्यक्ष पोखरेलले सञ्चालक समितिको तर्फबाट संघठानिक प्रतिवेदन, महासचिव देव बहादुर सापकोटाले २०८०/८१ को प्रगति प्रतिवेदन तथा २०८१/८२ को प्रस्तावित निति कार्यक्रम र कोषाध्यक्ष नरेन्द्र बहादुर रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारीले स्वरोजगार बनाएको आत्मनिर्भर बन्न उत्प्रेरित गरेको , वितिय परिचालन गरी उत्पादनसँग जोडिएको , बचतको अर्थ भावनालाई आत्मसाथ गर्न अभिप्रेरित गरेको , सामाजिक सास्कृतिक परिवर्तन गर्न भुमिका खेलेको, नेतृत्वको विकास, आपसि सद्भाव विश्वास र एकतावद्ध वनाउन भूमिका खेलेको , ७ खर्व भन्दा वढी पूँजी परिचालन गरेको , १ लाखभन्दा बढीलाई रोजगार दिएको कुरालाई नियमक निकाय र सरोकार बिर्सन नहुने भन्दै सदस्यको घरदैलोमा पुगेर आवश्यकता पहिचान गरी सदस्य केन्द्रित कार्य गर्नको विकल्प नभएको बताएका थिए ।
कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय सदस्य शोभा राउत धनुषा सहकारी संघ लिमिटेडका अध्यक्ष ध्रुव नारायण यादव , पर्सा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष राजेश पण्डित , बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सचेन्द्र ठाकुर, चन्द्रपुर नगरपालिकाका सहकारी इकाई प्रमुख शेख नसरे आलम, राष्ट्रिय सहकारी बैंक चन्द्रनिगाहपुरका प्रमुख रुपा थापा लगायतको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त कुमार आचार्यले गर्नुभएको थियो