श्याम कार्की
रौतहट / रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिकाको संरक्षण तथा सहयोग एवम् अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा व्यवस्थापनमा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को दोस्रो दिनको खेलमा मोरङ्गको विराटनगर महानगरपालिकाले विजयी सुरुवात गरेको छ । चन्द्रपुर नगरपालीका ६ स्थित शेर व. दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएकोे खेलमा विराटनगर महानगरपालिकाले सुर्खेतको विरेन्द्रनगर नगरपालिकालाई १–० ले पराजित गरेको छ । विराटनगरलाई बराबरीमा रोक्न सफल भएको विरेन्द्रनगरले खेलको ७२ औँ मिनेटमा गोल खाएको थियो । खेलको ७२ औँ मिनेटमा विराटनगरकी सावित्री मगरले निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी गराएकी थिइन् । जितसँगै विराटनगरले महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भएको छ । खेलको सुरुवात देखिनै विराटनगर विरेन्द्रनगरमाथि लगातार हावी भएको थियो । विराटनगरका खेलाडीहरुले निरन्तर गोल गर्ने प्रयास गरेका छिन् । विराटनगर खेलाडीका केही राम्रा प्रहारलाई विरेन्द्रनगरकी गोलरक्षक सलिना चौधरीले आकर्षक बचाव गरेकी थिइन् । खेलको वुमन अफ दि म्याच हुन सफल विरेन्द्रनगरकी कप्तान सृजना सिंह भएकी आयाजकले जानकारी दिएको छ ।
त्यसैगरी आजै सम्पन्न पहिलो खेलमा बाह्रविसे स्याङ्जाको वालिङ्ग नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिका १–१ गोलको बराबरीमा रोकिएकाछन् । खेल बराबरीमा भएपछि दुबै टिमले समान १–१ अंक बाडेका छन् । खेलको पहिलो हाफमा दुबै टिमले गोल गर्ने केही राम्रा अवसर गुमाउँदा बराबरीमा सकिएको थियो । बाँसगढीको रक्षापंक्तिकी खेलाडी सुष्मिता चौधरी र गोलरक्षक जान्वी केसीले बाँसगढीका अग्रपंक्तिका खेलाडीका गोल गर्ने प्रयासलाई असफल पारेका थिए । खेलको ५९ औँ मिनेटमा बाँसगढीले अजिता घर्ती मगरको गोल मार्फत अग्रता लिएको थियो । बाँसगढीकी सुरक्षा सुखरियाले डिबक्सभित्र दिएको पासलाई मगरले गोलरक्षकलाई छक्याउँदै गोल गरेकी थिइन् । एक गोलले पछाडि परेको वालिङ्ग नगरपालिकाले गोल गर्ने प्रयासभने निरन्तर गरेको थियो । खेलको ८८ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै वालिङ्गले खेल बराबरी गरेको थियो । डि–बक्सभित्र बाँसगढीकी खेलाडीको हातमा बल लागेपछि पाएको पेनाल्टीलाई वालिङ्गकी मनमाया दमाइले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । खेलको वुमन अफ दि म्याच बाँसगढीकी सुरक्षा सुखरिया भएकी थिइन ।
प्रतियोगितामा समुह क अन्तर्गत बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, चन्द्रपुर नगरपालिका रौतहट, बिदुर नगरपालिका नुवाकोट र चौदण्डीगढि नगरपालिका उदयपुर रहेका छन् भने समुह ख अन्तर्गत वालिङ्ग नगरपालिका स्याङ्जा, बाँसगढि नगरपालिका बर्दिया, विरेन्द्रनगर नगरपालिका सुर्खेत र विराटनगर महानगरपालिका मोरङ्ग छन् । प्रतियोगिता १८ गते सम्म चल्ने छ । यस प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई स्कुटर बाट पुरस्कृत गरिने भएको छ भने प्रतियोगितामा प्रथम हुने टिम लाई ३ लाख र दोस्रो हुने टिम लाई १ लाख ५० हजार पाउनेछन् । त्यसैगरी सेमीफाईनल पुग्ने दुई टिम लाई जनही ५०/५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाइएको छ । प्रतियोगिताको प्रत्येक खेलमा ‘वुमन अफ दी म्याच’ लाई नगद ५ हजार र कप , उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।