रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल शान्ति सरक्षाका बारेमा चासो राख्दै मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञ विनोद पोखरेलसंग छलफल गर्नुभएको छ । भेटघाटको क्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको पनि सहभागिता रहेको थियो । नगरप्रमुख जयसवालले डिआइजी पोखरेललाई आफ्नै कार्यकक्षमा स्वागत गरे । भेटघाटको क्रममा दुवै जनाबीच गरुडा नगरसहित जिल्लाको शान्तिसुरक्षा, चोरी, तस्करी, गुण्डागर्दी एवं अपराध नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।मधेश प्रदेशको राजधानी जनकपुरबाट रौतहट आउनुभएको डिआइजी पोखरेलले गरुडा नगर प्रमुख जयसवालसंग शान्ति सुरक्षाका बिषयमा चासो लिनुभएको थियो । साथै आगामी दिनमा डिआइजी पोखरेलको नेतृत्वमा रहेका प्रदेश प्रहरीले रौतहट लगायत मधेश प्रदेशमा थप सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राखी अपराधिक गतिविधि नियन्त्रण र नीति निर्देशन अनुरुप उत्कृष्ट एवं प्रशंसनीय ढंगबाट उच्च मनोबलका साथ कार्य सम्पादन गर्नेमा आफु पूर्णरुपमा विश्वस्त रहेको मेयर जयसवालले विश्वास व्यक्त गर्नुभयो । मेयर जयसवालले गरुडा नगरपालिकाको विर्तामा सञ्चालित प्रहरी बोर्डिङ स्कुलमा नगरपालिकाबाट हुने हर प्रकारको सहयोग गर्न आफु सदैव तयार रहेको प्रतिबद्धता जनाउनुभयो । आफ्नै कार्यकक्षमा प्रदेश प्रहरी प्रमुख पोखरेललाई स्वागत गर्ने र भेट्ने अवसर पाएकोमा आफुलाई निकै खुसी लागेको मेयर जयसवालले बताउनुभएको छ । गरुडा नगरपालिका नगर प्रमुख जयसवालले नगरको विकाससंगै शान्ति सुरक्षाका बिषयमा सुरक्षानिकायका प्रतिनिधिहरुसंग छलफल गर्दै आउनुभएको छ ।